यस वर्षको फूलपाती बढाइँ साङ्केतिक

काेराेनाको सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभइ धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतिकात्मक रुपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो । यस वर्ष फूलपाती आउँदाे कात्तिक ७ गते शुक्रबार परेको छ ।
उहाँले भन्नुभयो, 'स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङ्केतिक रुपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौँ । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गर्थ्याे भने यस पटक सामाजिक दूरी कायम गरी २५/२५ जनामा सीमित गरिएको छ ।' बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुनुहुनेछ।
विगतको जस्तो धेरै कार्यक्रम नगरि छोटो बढाइँ र टुकडीले सैनिक ब्याण्ड प्रदर्शनी गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । विगतमा सेनाबाहेक एक हजार २०० को सङ्ख्यामा विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको सङ्ख्या १०० जनामा सीमित तुल्याइने छ ।
अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकामा स्वास्थ्य मापदण्डका कारण यस वर्ष सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता पौडेलले बताउनुभयो । उपस्थित हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।
No comments