दोषीलाई कारबाही गर्ने प्रजिअको प्रतिबद्धतापछि ममताले तोडिन् अनशन

सुखीपुर नगरपालिका–४ का वडाध्यक्ष रामलोभित यादवसहित उनका आफन्तहरुले आफूमाथि कुटपिट गरेको र हालसम्म आफूले क्षतिपूर्ति नपाएको उनको आरोप थियो । भोटिया टोलमै घर बनाएर बस्दै आएका वडाध्यक्ष यादवले गतअसार ७ गते ममतालाई कुटपिट गरेका थिए ।
अरुसँग किन बोलचाल गरेको र आफू अनुकुल किन नहिँडेको भन्दै वडाध्यक्ष यादवले कुटपिट गरेको ममताको दु:खेसो छ । कुटपिटबाट कम्मरको हड्डीसहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको उनले दाबी गरेकी छन् । पीडित ममताको उपचार लहानमा सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गरिएको थियो ।
पीडित महिलाले आफूमाथि कुटपिट गरेको भन्दै वडाध्यक्ष यादवसहित पाँच जनाविरुद्ध उजुरी पनि दर्ता गराएकी थिइन् । पीडितको उजुरीपछि गत असोज ११ गते आरोपितमध्येका नवीन यादव प्रहरीको नियन्त्रणमा छन् भने वडाध्यक्षसहित अन्य फरार छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र प्रहरी प्रमुख एसपी उमाशंकर पंजियारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आफूले अनशन तोडेको पीडित ममता यादवले बताइन् ।
No comments