Breaking News

पाँचथरको फिदिम नगरपालिकामा मङ्सिर २ गतेसम्म लकडाउन

पाँचथर – दशैँ सकिएलगत्तै पाँचथरमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि फिदिम नगरपालिकामा लकडाउन गरिएको छ । 


फिदिम नगरपालिकाको बुधबार बसेको आकस्मिक बैठकले कात्तिक १९ गते राति १२ बजेदेखि मङ्सिर २ गते राति १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको हो । पाँचथरमा पछिल्लो रिपोर्टअनुसार सदरमुकाम फिदिममा १४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार रातिदेखि लागू हुने लकडाउनमा अत्यावश्यक सेवाबाहेकका सबै व्यवसाय र यातायात बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

कोभिड–१९ रोकथाम र व्यवस्थापनका लागि लकडाउन गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमणि सुवेदीका अनुसार पछिल्लो पटक ११ जना फिदिम बजारका स्थानीय र तीन जना थुनुवालाई सङ्क्रमण देखिएको हो ।

पाँचथरमा अहिलेसम्म ५५ जनालाई कोरोना सङ्क्रमण भएको छ, जसमध्ये २२ जना आइसोलेशनमा छन् भने बाँकी निको भइसकेका छन् । 

No comments